सिरहाबाट नौ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै
सिरहा–मुलुकभर चैत ८ गतेदेखि एकै पटक शुरु हुन गईरहेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सिरहा जिल्लाबाट नौ हजार दुई सय ८४ परीक्षार्थीहरु सहभागी हुँदैछन् ।जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले परीक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिँदै उत्तरपुस्तिका, प्रश्न पत्र र आवश्यक कागजातहरु जिल्लाका सबै ३८ परीक्षा केन्द्रमा पठाई सकिएको जानकारी दिए । जिल्लाका ७५ सामुदायीक र ५७ संस्थागत विद्यालय सहित एक सय ३२ विद्यालयका नौहजार दुई सय ८४ जना विद्यार्थी सहभागी हुने बताइएको छ ।
परीक्षा सञ्चालनका लागि ३८ परीक्षा केन्द्र तोकिएको छ । मर्यादित तथा व्यवस्थित रुपमा संचालन गर्न सुरक्षा तथा अन्य सम्वेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको जनाएको छ । जसमध्ये ३६ केन्द्रमा रेगुलर विद्यार्थी र २ वटा केन्द्र एक्जामटेड विद्यार्थीका लागि तोकिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
विगतका वर्षहरुमा रेगुलर र एक्जामटेड दुवैलाई एकैठाउँ मिसाएर परीक्षा लिएपनि यो वर्ष छुट्टाछुट्टै रुपमा लिने व्यवस्था मिलाएको हो ।
खुल्लाबाट एक सय १० जना
सिरहा जिल्लाभरबाट एक मात्र लहानस्थित पशुपति आदर्श मा.वि.बाट ८७ जना विद्यार्थी खुल्लातर्फको परीक्षामा सहभागी हुँदैछन् । खुल्लातर्फे नि.मा.वि. तहको कक्षा ८ उत्तिर्ण गरी दुई वर्षसम्म विद्यालय नगएका विद्यार्थीहरुका लागि ३५ दिने अभिमुखीकरण कक्षा संचालन गरी आन्तरिक मूल्याङ्कनको आधारमा फारम भरेपछि परीक्षामा सामेल हुन पाउने व्यवस्था रहेको पशुपति आदर्श मा.वि.का शिक्षक शोभितलाल चौधरीले जानकारी दिनुभयो ।
यसैबीच सिरहाबाट यो वर्ष ६५ जना विद्यार्थीले माध्यक्ष्मिक शिक्षा परीक्षा दिन नपाउने भएका छन् । निर्धारित समयमा परीक्षा फर्म नभरेका, फर्ममा त्रुटी देखिएका, समयमा राजश्व नबुझाएका र ७५ प्रतिशत हाजिर नपुगेका ६५ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

Comments
Post a Comment